विराटनगर । आर्थिक वर्ष २०७७/०७८ को अन्तिम असार मसान्तमा आइपुग्दा पनि विराटनगर भन्सारले लक्ष्यअनुसारको भन्सार राजस्व असुली गर्न नसक्ने निश्चितजस्तो भएको छ । विगत दुई वर्षदेखि आफ्नो लक्ष्यअनुसारको भन्सार राजस्व असुली गर्न नसक्दा विगतका वर्षहरूमा उत्साहजनक रूपले लक्ष्य हासिल गरेको विराटनगर भन्सारको साखमा नै गिरावट आएको छ ।
गत वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण अन्य क्षेत्रमा व्यापक प्रभाव परेको भए पनि विराटनगर भन्सारको हकमा भने खासै प्रभाव नभएको भन्सार कर्मचारीस्रोतले नै बताएको छ ।
कोभिड–१९ को उच्च संक्रमण रहेको अवस्थामा पनि निर्बाधरूपमा आयात तथा निर्यातसम्बन्धी काम गर्दै आएको विराटनगर भन्सारमा विगत दुई वर्षदेखि राजस्व असुली ओरालो लाग्नुमा अक्षम भन्सार प्रशासन नै मुख्य जिम्मेवार भएको विष्लेषण गर्न थालिएको छ । जसको परिणाम विगत दुई वर्षदेखि विराटनगर भन्सारले आफ्नो लक्ष्यअनुसारको भन्सार राजस्व असुली गर्न नसकेको दाबी विराटनगर भन्सारकै उच्चस्रोतले गरेको छ ।
विराटनगर भन्सारबाट भन्सार राजस्व असुलीमा भन्दा भन्सारबाट भन्सार जाँचपासमा प्रमुख भन्सार अधिकृतदेखि भन्सार अधिकृत नै सेटिङमा संलग्न भएर न्यून मूल्यांकनमा भन्सार जाँँचपास गर्नेगरेका घटनाहरू धमाधम बाहिरिएका छन् ।
समाचारस्रोतका अनुसार करिब एक महिनाअघि विराटनगरमा रहेको एमटेक प्रालिले आयात गरेको एसीमा जडान हुने इलेक्ट्रोनिक्स पार्टसमा भन्सार दरबन्दीअनुसार ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लगाउने ठाउँमा उद्योगको सुविधा प्रयोग गरी ५ प्रतिशत भन्सार महसुल लिएर भन्सार अधिकृत निर्माण भट्टराईले सामान जाँचपास गरेका थिए ।
उक्त घटना बाहिरिएपछि पनि विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले अहिलेसम्म पनि भन्सार अधिकृत भट्टराईलाई कुनै कारबाही नगरी संरक्षण गरेपछि विराटनगर भन्सारमा हुने सेटिङको कारोबार छताछुल्ल बनेकोे छ ।
भन्सार अधिकृत भट्टराई र एमटेकका सञ्चालकबीचको सेटिङ भएपछि मात्र उक्त कम्पनीले आफ्नो माल जाँचपास गराएको थियो । भन्सार अधिकृत निर्माण भट्टराईसँगै अर्का भन्सार अधिकृत रामप्रसाद पोखरेलको भन्सार सेटिङ प्रकरण पनि पछिल्लो समय विराटनगर भन्सारमा व्यापक बढेको पाइएको छ । दुवै भन्सार अधिकृत र प्रमुख भन्सार अधिकृत भण्डारीको डरलाग्दो सेटिङका कारण एकातिर भन्सार राजस्व असुलीमा ठूलो प्रभाव पर्न थालेको बताउन थालिएको छ ।