काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । नेपाल फाइनान्सका अनुसार आइतबार ललितपुर फाइनान्सलाई प्राप्ति गरी नेपाल फाइनान्स लिमिटेडको नाउँबाट एकीकृत कारोबार शुभारम्भ गरिएको हो ।
एकीकृत कारोबार शुभारम्भ भएपश्चात् साबिकको ललितपुर फाइनान्स लिमिटेडको नाउँबाट भए गरेका सम्पूर्ण काम कारोबारहरू अबदेखि प्राप्ति गर्ने संस्था नेपाल फाइनान्स लिमिटेडको नाउँबाट हुने र भए गरेको मानिने नेपाल फाइनान्सले जानकारी दिएको छ ।
कान्तिपथस्थित होटल एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका सञ्चालकहरू, नेपाल फाइनान्सका आधारभूत सेयरधनी एवं उद्योग व्यवसायी राजेन्द्र शाक्य र नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया, ललितपुर फाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखर खड्कालगायत सीमित कर्मचारीको उपस्थितिमा एकीकृत कारोबार शुभारम्भ कार्यक्रम सम्पन्न गरेको पनि फाइनान्नसले जानकारी दिएको छ ।
नेपाल फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल फाइनान्सका सञ्चालक एवं संयुक्त प्राप्ति समितिका संयोजक दिप्रश शाक्यले स्वागत मन्तव्यको साथमा समितिले सम्पादन गरेका कार्यहरूको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतमले गरेका थिए ।
कार्यक्रममा नेपाल फाइनान्सका स्वतन्त्र सञ्चालक आनन्दकृष्ण ताम्राकार र ललितपुर फाइनान्सका अध्यक्ष दिपक महर्जनले शुभकामना व्यक्त गर्दै प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्रै एकीकृत कार्यसम्पन्न गरी ऐतिहासिक रेकर्ड कायम गरेको र आगामी दिनहरूमा समेत यस्तै रेकर्ड हासिल गर्न संस्था सफल होस् भनी शुभकामना व्यक्त गरेका थिए ।
निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रूपमा विसं २०४९ सालमा स्थापना भएको नेपाल फाइनान्स लिमिटेड र ललितपुर जिल्लाको पहिलो फाइनान्स कम्पनी ललितपुर फाइनान्स लिमिटेडबीच प्राप्तिको लागि २०७७ पुस २३ गते प्रारम्भिक सम्झौता सम्पन्न भएको थियो ।
एकीकृत कारोबारपश्चात् विभिन्न १० शाखा कार्यालय र एक विस्तारित काउन्टरबाट आफ्नो सेवा प्रवाह गर्नेछ भने, डिजिटल बैंकिङ एटीएम कार्ड सञ्चालनको लागि समेत सम्पूर्ण तयारी पूरा गरिसकेको, आगामी वर्षमा समेत शाखा विस्तारको रणनीति लिएको र देशका विभिन्न स्थानहरूमा १० वटासम्म शाखाहरू सञ्चालनमा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले बताए ।