काठमाडौं । कामना सेवा विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुनआउने एक अर्ब रुपैयाँबराबरको नौ प्रतिशत कामना सेवा विकास बैंक ऋणपत्र २०८८ ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रूपमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने विषयमा सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा आज आइतबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको संस्थापकहरूमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरूमा आबद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरू संलग्न रहेका छन् । ग्राहकहरूलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरू उपलब्ध गराउँदै आइरहेको बैंकले हाल एक सय २८ वटा शाखा कार्यालयहरू र एउटा एक्सटेन्सन काउन्टर तथा ७० वटा एटीएममार्फत आफ्नो सेवाहरू प्रवाह गर्दै आएको छ ।