काठमाडौं । नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । नेपाल बंगलादेश बैंक लि., आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताअनुसार मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष बिदुर हुमागाईँबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी असार २५ गतेबाट लगानीको सुरुवात गरिएको हो ।
यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका बडा नं ३ का २५ जना कृषकहरू लाभान्वित हुने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत विनाधितो, एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरूले कर्जाको साथै त्यति नै सीमाबराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् ।
उक्त कार्डबाट कृषकहरूले सामान खरिद गर्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बंगलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरूलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा मकवानपुरगढी गाउँपालिकाबाट सुरु गरी नेपालभरि नै यसकिसिमको कर्जा विस्तारित गर्दै ग्रामीण भेगका कृषकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरूको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ । बैंकले हाल ९९ शाखा, आठवटा एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।