लन्डन । गुडवुड फेस्टिभल अफ स्पिडमा ‘प्रदूषण खाने कार’ सार्वजनिक गरिएको छ । बेलायती डिजाइनर थोमस हिथरविकले बनाएको कार ‘आइरो’ सन् २०२३ मा चीनमा उत्पादन हुने तयारीमा छ ।
जहाँ दशौँ लाख कार उत्पादन गर्ने योजना बनाइएको छ । प्रदूषणको मुद्दामा मात्रै यो कारको डिजाइन गरिएको छैन, कारहरुमा हुने स्थान अभावको समस्यालाई पनि यसले सम्बोधन गर्ने बताइएको छ । तर आलोचकहरुले भने यसलाई अवधारणा कारबाट व्यावहारिक कार हुनेमा शंका गरेका छन् । लन्डनको नयाँ भर्सनको आइकोनिक रुटमास्टर बसको डिजाइनका बाबजुद हिथरविक क्यालिफोर्निया र लन्डनमा रहेका गुगलका मुख्यालयजस्ता आर्किटेक्चर परियोजनाका लागि पनि प्रसिद्ध छन् ।
उनले यसअघि कहिल्यै कारको डिजाइन नै गरेका थिएनन् । ‘जब म हुर्किँदै थिएँ कारका माध्यमबाट डिजाइनका मूल्यहरु प्रकट हुन्थे, सन् १९८० को दशकको फोर्ड सिएरा होस् कि फियाटको पान्डा केही मुख्य आइडियाहरु कारबाट उदाउँदै थिए’, उनले भने, ‘चीनको आईएम मोटर्सले हामीलाई पछ्याइरहेको थियो । हामीले भन्यौँ– हामी कार डिजाइनर होइनौँ । उनीहरुको जवाफ थियो– त्यही भएर त तपाईंलाई हामी चाहन्छौँ ।’
उक्त कार पहिलोपटक गत अप्रिलमा चीनको सांघाईमा अनावरण गरिएको थियो । यो कारमा ठूला सिसाका छाना छन् । भित्री डिजाइन कोठाजस्तै छ । जहाँ बस्न मिल्ने कुर्सीहरु छन् । तिनलाई ओछ्यानमा रुपान्तरण गर्न सकिन्छ । बीचमा एउटा टेबल छ । बैठक या खाना खानका लागि हो । त्यसैगरी कारको स्टिअरिङ पांग्रा ड्यासबोर्डमा लुकाइएको छ भने बाहिरी भाग घेराका शृंखलाहरु राखिएको छ ।
हिथरविक भन्छन्, ‘कार उत्पादकहरु विद्युतीय कार उत्पादनमा लागिपरेका छन् तर नयाँ विद्युतीय कार केवल देख्दा मात्रै फरक हुने खालका हुनुहुँदैन ।’ कारको बाहिरी भागमा हावाको प्रवाह परावर्तन गर्नुपर्दा अगाडिका ग्रिलमा एयरफिल्टर राखिनेछ जसले टेनिस बलजत्रै कणहरु प्रतिवर्ष जम्मा गर्छ ।
यो सुन्दा त्यति धेरै नलागे पनि हाम्रो फोक्सोमा रहने टेनिस बलबारे सोचौँ त त्यसले हावालाई स्वच्छ पार्न योगदान गरेको छ । चीनमा दशौँ लाख सवारीसाधन चल्दा यो थोरैबाट धेरै हुन जाने उनको भनाइ छ । यो प्रविधिलाई उनी नयाँ चरणको विकास भन्छन् । योजनाअनुसार कार स्वतः चल्ने र चालकको नियन्त्रणमा हुने दुवै सुविधायुक्त हुनेछ । बीबीसीबाट भावानुवाद