अमेरिका । स्वेज नहरबाट इजिप्टले गर्ने आम्दानीले सन् २०१७–०१८ को अवधिमा नयाँ कीर्तिमान कायम गरेको छ । उक्त आर्थिक वर्षमा इजिप्टको राजस्व ११ दशमलव पाँच प्रतिशतले बढेर पाँच अर्ब ५८ करोड अमेरिकी डलर संकलन भएको हो ।
नहरका अधिकारीहरुले आइतबार आफ्नो वेबसाइटमा वक्तव्य जारी गरी उक्त जानकारी दिएको रोयटर्सले जनाएको छ । त्यसअघिको वर्षमा पाँच अर्ब डलर मात्रै राजस्व संकलन भएको थियो । यो आर्थिक वर्ष अझै सकिन बाँकी छ । इजिप्टमा जुलाई १ देखि सुरु भएर जुनको मसान्तमा आर्थिक वर्ष सकिन्छ । अधिकारीहरुले आर्थिक वर्ष नसकिनुअगावै किन तथ्यांक सार्वजनिक गरे भन्ने नखुलेको बताइएको छ ।
उसले शनिबार मे महिनामा राजस्व संकलन बढेकोले वार्षिक संकलन कीर्तिमान हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय व्यापार बढेको र शिपिङ उद्योगमा सुधार भएकाले राजस्वमा योगदान मिलेको बताइएको छ । इजिप्टले सन् २०१४ देखि थालिएको स्वेज नहरको विस्तारमा लगानी गरेको छ । देशको कमजोर अर्थतन्त्र फस्टाउन यसलाई व्यापारिक हबका रुपमा इजिप्टले विकास गरिरहेको छ ।