ढाका । बंगलादेशमा लागू हुँदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो । यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान चाड इद उल अजहा बंगलादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ ।
लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्णय छ । पसलहरू, सपिङ मललगायतका ठाउँमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ । बंगलादेशमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार सात सय ६८ जना नयाँ संक्रमित थपिएको अधिकारीहरूले जनाएका छन् । यो नै अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै संक्रमितको संख्या हो ।
बंगलादेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १० लाख ३४ हजार नौ सय ५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा दुई सय २० जनाको मृत्यु भएको छ । योसँगै बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या १६ हजार छ सय ३९ पुगेको पुगेको छ ।