अमेरिका। अन्तरिक्ष कम्पनी भर्जिन गालाक्टिकले ५० करोड अमेरिकी डलरबराबरको सेयर बिक्री गर्नसक्ने जनाएको छ । आइतबार यसका मालिक सर रिचार्ड ब्रान्सनको टोलीले कम्पनीकै रकेट विमानबाट सफल अन्तरिक्ष यात्रा गरेसँगै कम्पनीको यस्तो भनाइ आएको हो । कम्पनीले सेयर बिक्रीमार्फत उक्त रकम संकलन गर्नलागेको छ ।
आफ्नो अन्तरिक्ष यान उडान र पूर्वाधारमा आवश्यक रकमको जोहो सेयर बिक्रीमार्फत कम्पनीले गर्न लागेको हो । अर्बपति ब्रान्सन आइतबार आफ्नै कम्पनीले बनाएको यानमार्फत अन्तरिक्ष पुगेर फर्किएका थिए । यो उद्देश्य पूरा गर्न कम्पनी १७ वर्षयता निरन्तर लागिरहेको थियो । ब्रान्सनको टोलीले केही समयका लागि भए पनि अन्तरिक्षमा तौल घटेको अनुभव बटुलेका थिए । पृथ्वीमा फर्किएपछि उनले जीवनकै अविस्मरणीय अनुभव गरेको प्रतिक्रिया दिएका थिए ।