काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ । हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो । पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मुख्य आधार बनाएर तीन क्याटागोरीमा भाडा बढाइएको हो । निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको छ ।
यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ । तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।
प्रवक्ता लोकनाथ भुसालले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको बताए । श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ । विभागका अनुसार असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको जनाएको छ ।