काठमाडौं । वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले सरकारलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन विभागले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई बुधबार पत्राचार गरेको हो ।
सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको जनाएको छ । प्रमुख श्रम गन्तव्य मुलुककहरुले खोप लगाएकालाई आफ्नो मुलुकमा कामका लागि आउन दिने निर्णय गरेसँगै विभागले युवाहरुको लागि खोप उपलब्ध गराउन केन्द्रसँग आग्रह गरेको हो ।
यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको थियो । नेपाली श्रमिकहरुका अधिकांश गन्तव्य मुलुकहरुले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन केन्द्रसमक्ष आग्रह गरिएको विभागको भनाइ छ ।
भेरोसेल खोप पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तीमा चार हप्ताको अन्तर हुनुपर्नेछ भने जोन्सन खोप एक मात्रा लगाए पुग्छ । जसले गर्दा विदेश जाने युवाहरुलाई सहज हुने देखिन्छ ।