काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बुुधबार भर्चुुअल कार्यक्रममार्फत यो एप सार्वजनिक गरिएको हो । भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेकी हुुन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ ।
मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । उक्त एप हालको निम्ति बेटा भर्सन’मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिकरूपमा आईओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।