काठमाडौं । सरकारले चिया बगानमा कार्यरत श्रमिकको तलबमान गत वर्षभन्दा सामान्य वृद्धि गरेको छ । सरकारले यही असार २८ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरी चिया बगानमा कार्यरत मजदुरहरूको मासिक तलब महंगी भत्तासहित १२ हजार ८१ रुपैयाँ पु¥याएको छ । उक्त नयाँ तलबमान आर्थिक वर्ष २०७८/०७९ को पहिलो दिन आज साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार गक्त तलब वृद्धि आव २०७७/०७८ को भन्दा मासिक पाँच सय २० रुपैयाँ मात्र बढी हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार चिया बगानमा कार्यकरत श्रमिकहरूको आधारभूत पारिश्रमिक साउन १ गते शुक्रबारदेखि सात हजार सात सय ६९ रुपैयाँ र महंगी भत्ता चार हजार तीन सय १२ रुपैयाँ गरी १२ हजार ८१ रुपैयाँ पु-याएको हो । महंगी भत्ता अघिल्लो वर्षको जति नै राखेर सरकारले तलब स्केल मात्र पाँच सय २० रुपैयाँ वृद्धि गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा चिया बगानमा कार्यरत मजदुरको आधारभूत तलब सात हजार दुई सय ४९ र महंगी भत्ता चार हजार तीन सय १२ रुपैयाँ थियो । यस्तै, बगानमा कार्यरत मजदुरको दैनिक र प्रतिघण्टा ज्यालामा पनि सरकारले सामान्य वृद्धि गरेको छ । गत आवमा दैनिक आधारभूत पारिश्रमिक दुई सय ६१ रुपैयाँ र महंगी भत्ता एक सय ५४ गरी कुल चार सय १५ रुपैयाँ रहेकामा आव २०७८/०७९ मा भने आधारभूत पारिश्रमिक दुई सय ८१ र महंगी भत्ता पुरानै एक सय ५४ गरी चार सय ३५ रुपैयाँ पु-याएको छ ।
बगानमा कार्यरत मजदुरको प्रतिघण्टा आधारभूत पारिश्रमिकमा दुई रुपैयाँ मात्र वृद्धि गरेर ५७ रुपैयाँ पु-याएको छ । मासिक र दैनिकमा जस्तै प्रतिघण्टा काम गर्ने मजदुरहरूका लागि पनि महंगी भत्ता अघिल्लो वर्षको जति नै २० रुपैयाँ कायम गरिएको छ । गत वर्ष आधारभूत पारिश्रमिक ३५ रुपैयाँ र महंगी भत्ता २० रुपैयाँ गरी ५५ रुपैयाँ रहेकामा यस वर्ष भने आधारभूत पारिश्रमिक प्रतिघण्टा ३७ रुपैयाँ र महंगी भत्ता २० रुपैयाँ गरी ५७ रुपैयाँ कायम भएको छ । चिया बगानका श्रमिक, सदरदार, नाइके र चौकीदारको दैनिक भत्ता भने वृद्धि गरिएको छैन । उनीहरूलाई दैनिक ५५ रुपैयाँ भत्ता दिइनेछ ।
सरकारले चिया बगानबाहेकका श्रमिकको तलब भने साउन १ गतेदेखि मासिक १५ हजार रुपैयाँ पु-याएको छ । उनीहरूलाई आधारभूत पारिश्रमिक नौ हजार तीन सय ८५ रुपैयाँ र महंगी भत्ता पाँच हजार छ सय १५ गरी १५ हजार रुपैयाँ पु-याएको छ । विश्व मजदुर दिवस अर्थात् मे १ तारिखका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूका लागि नयाँ तलब लागू हुने घोषणा गरेका थिए । सोही घोषणाअनुसार सरकारले चिया बगान र चिया बगानबाहेकका स्थानमा कार्यरत श्रमिकहरूको तलब वृद्धि गरेको हो । चिया बगानबाहेकका श्रमिकहरूले तलब वृद्धि थोरै भएको बताएका थिए भने उद्योगीले भने धेरै भएको भन्दै अर्थतन्त्रलाई थप धराशायी बनाउने जिकिर गरेका थिए ।
गत वर्ष भने कोरोना भाइरसको कारण न्यूनतम पारिश्रमिक निर्धारण भएको थिएन । सरकारले निजामती र जंगी कर्मचारीहरूको तलब पनि मासिक दुई हजार वृद्धि गरेको छ । नयाँ सरकारले पूरक वा नयाँ बजेट ल्याउने बताए पनि उक्त दुई हजार तलब वृद्धिलाई के गर्ने भन्ने केही बताएको छैन । बजेट कार्यान्वयन गर्नु दुई दिनअगाडि परिवर्तन भएको सरकारले पूरक बजेट वा नयाँ बजेट के ल्याउने भन्नेबारे निर्णय लिइसकेको छैन । तर पनि बजेट भने आज शुक्रबारदेखि कार्यान्वयनमा गएको छ ।