काठमाडौं । हरेक वर्ष जुलाई १५ लाई विश्व युवा दक्षता दिवसको रुपमा विश्वभर विविध कार्यक्रम गरी मनाउँदै आइएको छ । संयुक्त राष्ट्रसंघीय महासभाले यस दिन युवावर्गमा प्राविधिक र व्यावसायिक शिक्षाको महत्व जानकारी गराउँदै स्थानीय तथा विश्व अर्थतन्त्रमा प्रभावकारी हुने प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरु गराउँदै आएको छ । सोही अवसर पारेर टिम भर्टेक्स नेपालले स्पर्स एजुकेसनल फाउन्डेसन नेपालसँगको संयुक्त आयोजनामा सेन्ट्रल बिजनेस पार्क थापाथली, काठमाडौंमा सीप विकास, दक्षता मूल्यांकन तथा स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत मल्टिस्किल आईटी ल्याबको उद्घाटन बीपीओ, आईटी, एआरभीआर, डिजिटल मार्केटिङ र ट्याली सेक्टरबाट भएको थियो भने टिम भर्टेक्स नेपालले आईटी, आईटीआईएस र ट्याली सेक्टरमा पाइलट ब्याचहरुको समेत अनाउन्समेन्ट गरेको थियो । नेपालमा सीप विकासलाई थप सशक्त बनाउँदै स्थानीय तहबाटै स्वरोजगार सृजना गरेर नयाँ पुस्ताको लागि नेतृत्व गर्नसक्ने गरी युवाहरूलाई सक्षम बनाउने विषयहरुलाई उत्थान गरेर प्रभावकारी योजनासहित अघि बढ्ने विषयमा बृहत् छलफल गरिएको थियो ।
प्रशिक्षणपश्चात् अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विद्यार्थीहरुको दक्षता मूल्यांकन समेत गरिएको थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालको प्रमुख आतिथ्यसहित वर्ल्ड लिंक कम्युनिकेसनका प्रमुख संजय शाह, कम्प्युटर एसोसिएसन अफ नेपालका नवीन जोशी, ब्रिटिस कलेजका डिन अरुण जोशी, ब्रिक्सका निर्देशक दिनेश वशिष्ठ, एमडीअफ टिम भर्टेक्स सञ्जय अग्रवाल, स्पार्स एजुकेसनल फाउन्डेसन नेपालका प्रमुख शशांक अग्रवाल, नामी कलेजका प्रमुख पवन पोख्रेल तथा सीप प्रोजेक्ट नेपालका फोकल हेड तारा प्रसाद बकारियासहित विशिष्ट अतिथिहरुले सामूहिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।