काठमाडौं । आईएमई पे र इ–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौताअनुसार दराजका सेवाग्राहीहरुले दराजबाट सामान खरिद गर्दा आईएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
साथै, शुक्रबारदेखि सुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट सुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भई आईफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सम्झौतापत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहटा र दराज केमु प्रालि नेपालका प्रबन्धनिर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरेका छन् ।
बुधबार पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आईएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले दराज जस्तो इ–कमर्स कम्पनी र आईएमई पेजस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
साथै, प्रबन्धनिर्देशक ढकालले कोभिड–१९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आईएमई पेले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।