नयाँ दिल्ली । भारतको केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डलाई नयाँ डेबिट वा क्रेडिट कार्ड जारी गर्न रोक लगाएको छ । बीबीसीका अनुसार रिजर्व बैंक अफ इन्डियाले घरेलु ग्राहकलाई कार्ड जारी गर्नबाट कम्पनीलाई रोक लगाएको हो । बैंकले डेटा भण्डारणसम्बन्धी कानुन मास्टरकार्डले उल्लंघन गरेको आरोप लगाएको छ ।
भारतमा भारतीय भुक्तानीमा डेटा भण्डारण गर्न विदेशी कार्ड नेटवर्क आवश्यक पर्ने नियम मास्टरकार्डले लत्याएको आरबीआईले आरोप लगाएको छ । तर मास्टरकार्डले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । योसँगै अब कम्पनीले नयाँ डेबिट, क्रेडिट र प्रिपेड कार्ड भारतमा जुलाई २२ देखि जारी गर्न पाउनेछैन ।
आरबीआईले दिएको यो निर्देशनले अहिले रहेका मास्टरकार्डका ग्राहकलाई अप्ठ्यारो नपर्ने पनि बताइएको छ । कम्पनीले भारतमै डेटा भण्डारण गर्नुपर्ने सन् २०१८ को आफ्नो नियम उल्लंघन गरेको आरबीआईले जनाएको छ ।
गत वर्षसम्मको तथ्यांकअनुसार कुल कार्डद्वारा हुने भारतमा हुने भुक्तानीमा मास्टरकार्डले ३३ प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०१९ मा मास्टरकार्डले भारतमा अर्ब डलरको पाँचवर्षे विस्तार योजना सार्वजनिक गरेको थियो । यही वर्षको सुरुतिर अमेरिकी सेवा प्रदायक अमेरिकन एक्सप्रेस र डिनर्स क्लबलाई पनि रिजर्व बैंकले नयाँ कार्ड जारी गर्न बन्देज लगाएको थियो । उनीहरुविरुद्ध पनि बैंकले सोही नियम उल्लंघन गरेको आरोप लगाएको थियो ।