काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल र दिपेन्द्र बहादुर क्षेत्रीले नयाँ सरकारले पूर्ण बजेट ल्याउन सुझाव दिएका छन् । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट हुनाले नयाँ सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताए । ओली सरकारले ल्याएको बजेटलाई अहिलेको सरकारले एसेप्ट गर्छ भन्ने आफूलाई विश्वास नलागेको उनको भनाइ छ ।
राजनीतिक स्थिरता नभएको अवस्थामा सरकार परिवर्तन भएको र बजेट अध्यादेशबाट आएको कारण अहिलेको सरकार बजेट कार्यान्वयन गर्नसक्ने स्थितिमा नपुगेको पनि उनले बताए । मिडिया इन्टरनेसनलले ‘पुनरुत्थानसँगै र सबल अर्थतन्त्र’ विषयमा गरेको बेबीनार कार्यक्रममा उनले अहिलेको बजेटले अर्थतन्त्रलाई टेवा दिन र निम्नवर्गदेखि व्यवसायीसम्मलाई आत्मबल बढाउन नसकेको बताए । उनले सरकारले नयाँ बजेटमार्फत विशेष राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट नभई सरकारले नै राहत ल्याउनुपर्ने उनको भनाइ थियो । उनले संसारका सबै देशले बजेटले स्वास्थ्य र आर्थिक पुनस्र्थापनका प्याकेजहरू ल्याएको भन्दै नेपालले मात्रै स्वास्थ्य र आर्थिक पुनर्स्थापनाका प्याकेज ल्याउन नसकेको बताए ।
यस्तै पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्ने बताए । क्षेत्रीले ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भएकाले अहिलेको सरकारले आफ्नो हिसाबले बजेट ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘देउवा सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्छ ।’ त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरू विगत सात/आठ वर्षदेखि सफल हुन नसकेको भन्दै यसलाई पनि अबको बजेटले समेटेर लैजानुपर्ने उनको भनाइ छ । ओली सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटले चालू खर्च समेत धान्नसक्ने स्थिति नरहेको अर्थविद् क्षेत्रीले बताए । बैंकसँग रहेको रकम सरकारले सापटी नलिएको भए निजी क्षेत्रमा रकम जाने उनको भनाइ छ । अहिले राजस्व नीति आयतमुखी रहेको भन्दै उनले बजेटले आयतका लागि प्रश्रय दिएको बताए ।
यस्तै पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले उपयुक्त किसिमका योजनाहरू ल्याउने अपेक्षा गरे । कोभिडबाट उद्योग धन्दामा परेको असरलाई नयाँ मौद्रिक नीतिले समेट्नुपर्ने अर्थविद् क्षेत्रीको भनाइ छ । उनले अर्थ मन्त्रालय, राष्ट्र बैंक र उद्योग व्यवसायीबीच ट्रान्सफोर्स बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । मौद्रिक नीतिले मुद्रा स्फीतिलाई नियन्त्रण गर्नुपर्ने भन्दै मौद्रिक नीतिले तारतम्मे मिलाएर अगाडि बढ्न पनि उनले सुझाव दिए ।
यस्तै पूर्वगभर्नर नेपालले मौद्रिक नीति स्थायित्व, मुद्रा स्फीतिलाई हेर्ने खालको हुनुपर्ने भन्दै अघिल्लो सालको मौद्रिक नीतिले सहजरूपमा काम गरेको बताए । उनले केन्द्रीय बैंकले बैंकिङ कोरोबार गर्ने नभई बैंकिङ नियमन र सुपरीवेक्षण गरेर निक्षेपलाई सुरक्षित बनाउने काम भएको हुँदा मानिसले केन्द्रीय बैंकबाट धेरै अपेक्षा गर्न नहुने पनि बताए । उनले भने, ‘हामीकहाँ मात्र केन्द्रीय बैंकले पुनर्कर्जा दिने प्रचलन छ, यसले पुनर्कर्जा दिने नभई वित्तीय स्थायित्वका लागि बैंक र वित्तीय संस्थालाई नियमन र सुपरीवेक्षण गर्दै सुरक्षित बनाएर लैजाने हो ।’
उनले केन्द्रीय बैंकले बैंकहरू डुब्न लाग्यो भने रेस्क्यु गरेर लैजानुपर्ने बताए । बैंकमा मान्छेले विश्वास गर्नुको कारण वित्तीय स्थायित्वको कारण रहेको भन्दै उनले केन्द्रीय बैंकले मुद्रा स्फीतिलाई रोक्ने काममा जिम्मेवार हुनुपर्ने बताए । राम्रो पोलिसी भएकै कारण केन्द्रीय बैंक केही वर्षदेखि मजबुद हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘बजेटले प्राटेक्सन गर्दैन, केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई प्रोटेक्सन गर्ने र अर्थतन्त्रलाई पनि अगाडि बढाउने दायित्व निर्वाह गर्छ, त्यसकारण यो अत्यन्त सेन्सेटिभ हुन्छ ।’ उनले केन्द्रीय बैंकले गर्ने हरेक नीति लङट्रम र इफेक्टिभ हुने बताए । नागरिक लगानी कोष, सञ्चय कोषलगायतमा भएको पैसाको फ्लोमा केन्द्रीय बैंकले नियमन र सुपरीवेक्षण गर्न नसकेको भन्दै त्यो क्षेत्र पनि नियमन र सुपरीवेक्षणभित्र आउनुपर्ने उनको भनाइ थियो ।