वासिड.टन । संयुक्त राज्य अमेरिकाले हङकङमा व्यवसाय गरिरहेका अमेरिकी कम्पनीलाई त्यहाँ असुरक्षित रहेको सुरक्षा चेतावनी जारी गरेको छ । बीबीसीका अनुसार गत वर्ष चीनले नयााँ राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयन गरेपछि विदेशी कम्पनी असुरक्षित हुने चेतावनी जारी गरेको हो ।
नयाँ ‘बिजनेस एडभाइजरी’ले बहुराष्ट्रिय कम्पनीहरुलाई उक्त कानुनसँग कम्पनी पनि जोडिने र मानिसहरु त्यही कानुनका आधारमा पक्राउ पर्ने उल्लेख गरेको छ । यसबाहेक तथ्यांक समेत चिनियाँ सरकारी अधिकारीलाई हस्तान्तरण गर्नुपर्ने जोखिम रहेको अमेरिकाले जनाएको छ । बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले हङकङको व्यावसायिक अवस्था थप नाजुक भएको उक्त एडभाइजरीमा उल्लेख छ ।
बिजनेस एडभाइजरी डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ ट्रेजरी, कमर्स र होमल्यान्ड सेक्युरिटीले जारी गरेको बताइएको छ । त्यसमा राष्ट्रपति बाइडेनले चीन सरकारले हङकङप्रतिको आफ्नै प्रतिबद्धता पालना नगरेको आरोप लगाएका छन् । गत वर्ष सुपुर्दगी कानुनलाई लिएर हङकङमा अत्यधिक प्रदर्शन भएसँगै चीनले राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो । सोसँगै चीनविरोधी प्रदर्शन गर्नेलाई चीनले नै पक्राउ गरेर दण्डित गर्न सकिने भएको छ ।
एडभाइजरीमा अमेरिकाले प्रेस स्वतन्त्रता, गोपनीयता र दुवै देशबाट एकअर्काविरुद्ध गरिएका प्रतिबन्धलाई पनि उल्लेख गरिएको छ । गत शुक्रबारमात्रै अमेरिकाले थप सात चिनियाँँ अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको छ । हङकङमा व्यववसाय गर्नेले कानुनी जोखिम भोग्नुपर्ने बताइएको छ ।