काठमाडौं । माउन्ट रसुवा हाइड्रोपावर प्रालि र लक्ष्मी बैंकबीच सम्झौता भएको छ । गण्डकी प्रदेशको लमजुङ जिल्लाको कब्होलासोथार र मस्र्याङ्दी गाउँपालिकाहरूमा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३ दशमलव ४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत् आयोजनाको लागि लक्ष्मी बैंक लि.ले कर्जा लगानी गर्नेगरी बुधबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर गरेको हो । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैयाँ दुुई अर्ब ९३ करोड ८२ लाख रहेको छ ।
माउन्ट रसुवा हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदसम्बन्धी सम्झौता मिति २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयबाट मिति २०७७ साल कात्तिक ३ गतेका दिन विद्युत् उत्पादन अनुमति प्राप्त गरेको छ । माउन्ट रसुवा हाइड्रोपावर प्रालिलाई रसुवा कन्स्ट्रक्सन प्रालिलगायत अन्य व्यक्तिहरूले प्रवद्र्धन गरेका छन् र सोका अध्यक्ष राजेन्द्रराज आचार्य रहेका छन् ।
बैंकहरूले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ । उत्पादन क्षमता १३ दशमलव ४२४ मेगावाट रहेको माउन्ट रसुवा हाइड्रोपावर प्रालिले झण्डै ८३ दशमलव १७ गेगावाट आवर विद्युत् वार्षिकरूपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाइ २०, २०२३ मा सञ्चालनमा आउनेछ ।