काठमाडौं । सिभिल बैंकको तीन अर्बको नौ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८ निष्कासन गर्नेभएको छ । बैंकले सार्वजानिक निष्कासन गर्न लागेको एक हजार अंकित दरको ३० लाख कित्ता नौ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८ को प्रत्याभूति गर्नका लागि निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषलगायत ग्लोबल आईएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलले प्रचलित धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाबमोजिम आज प्रत्याभूति सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयक्त हस्ताक्षर गरेका छन् ।
जारी गरिने ऋणपत्रहरू सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भएबमोजिम आवेदन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरूले लिन मञ्जुर गरेका छन् । प्रत्याभूतिकर्ताहरू नागरिक लगानी कोषले दुई अर्ब, ग्लोबल आईएमई क्यापिटलले ३० करोड, प्रभु क्यापिटलले ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोडबराबरको ऋणपत्र प्रत्याभूति गरेका हुन् ।