नयाँ दिल्ली । सामाजिक सञ्जाल कम्पनी ह्वाट्सएपले २० लाख भारतीय प्रयोगकर्ताको एकाउन्ट ब्लक गरेको छ । सीएनएनका अनुसार हानिकारक व्यवहार रोक्न एकै महिनामा कम्पनीले ती एकाउन्ट ब्लक गरेको हो । भारतको नयाँ सूचना प्रविधि कानुन आएयता कम्पनीले पहिलोपटक विवरण सार्वजनिक गरेको बताइएको छ ।
नयाँ कानुन मे महिनादेखि कार्यान्वयनमा आएको हो । उक्त कानुनमा सामाजिक सञ्जाल कम्पनीहरुले हरेक महिना कानुन पालना गरेको देखाउन रिपोर्ट सार्वजनिक गर्नुपर्ने हुन्छ । यसका लागि कम्पनीहरुले स्थानीय कार्यकारी अधिकारीहरु नियुक्त गर्नुपर्छ भने कन्टेन्टहरु अध्ययन गरी उपयुक्त कदम चाल्नुपर्ने कानुनी बाध्यता छ ।
ह्वाट्सएप अर्को सामाजिक सञ्जाल कम्पनी फेसबुकको स्वामित्वमा रहेको छ । कम्पनीका अनुसार मे १५ देखि जुन १५ सम्मको अवधिमा २० लाखको ९५ प्रतिशत एकाउन्ट ब्लक गरिएको छ । खासगरी अनधिकृत प्रयोगका लागि ती एकाउन्ट ब्लक गरिएको ह्वाट्सएपले जनाएको छ ।
भारतमा ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेको बताइएको छ । भारत नै ह्वाट्सएपको मुख्य बजार हो । विश्वव्यापी रुपमा भने दुई अर्ब प्रयोगकर्ता छन् ।