नयाँ दिल्ली । भारतीय कम्पनीहरुले विदेशमा गर्ने लगानी जुन महिनामा बढेको छ । उक्त महिनामा कम्पनीहरुको विदेशमा लगानी दोब्बरले बढेर दुई अर्ब ८० करोड अमेरिकी डलर पुगेको हो । एक वर्षअघि यही रकम एक अर्ब ३९ करोड डलर थियो ।
रिजर्व बैंकको तथ्यांकअनुसार गत जुनमा कुल विदेशी लगानीमा एक अर्ब १७ करोड डलर ग्यारेन्टी, एक अर्ब २१ करोड डलर कर्जा र ४२ करो्ड ६८ लाख डलरको सेयर पुँजी रहेको नवभारत टाइम्सले जनाएको छ ।
तथ्यांकअनुसार टाटा स्टिलले सिंगापुरमा आफ्नो पूर्ण स्वामित्व रहेको कम्पनीमा एक अर्ब डलर लगानी गरेको छ । त्यस्तै विप्रोले अमेरिकास्थित आफ्नो पूर्ण स्वामित्व भएको एकाइमा ७८ करोड ७५ लाख डलर र टाटाा पावरले मौरिससमा आफ्नो पूर्ण स्वामित्वको एकाइमा १३ करोड १२ लाख डलर लगानी गरेका छन् ।
त्यस्तै रिलायन्स इन्डस्ट्रिजले सिंगापुरमा कृषि र उत्खननमा आधारित डब्ल्यूओएसमा पाँच करोड ६० लाख डलर, इन्टरग्लोब इन्टरप्राइजेजले बेलायतमा संयुक्त उद्यममा पाँच करोड १५ लाख, ओाएनजीसी विदेश लिमिटेडले मोजाम्बिकमा संयुक्त उद्यममा चार करोड ८३ लाख डलर र पपहाडपुर कुलिङ टावर्सले सिंगापुरमा आफ्नो पूर्ण स्वामित्वको एकाइमा चार करोड ८० लाख डलर लगानी गरेको तथ्यांकले देखाएको छ ।
यसबाहेक टाटा कम्युनिकेसन्सले सिंगापुरमा डब्ल्युओएसमा पाँच करोड डलर, ओएनजीसी विदेश लिमिटेडले रुसमा संयुक्त उद्यममा चार करोड ८७ लाख डलर र डब्ल्युएनएस ग्लोबल सर्भिसेजले नेदरल्यान्डमा संयुक्त उद्यममा चार करोड ५० लाख डलरको लगानी गरेको तथ्यांकमा देखिएको छ ।