काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त एक (उपरीक्षक) एसपी रमेशजंग विष्टले दाजुभाइ लगाएर श्रीमतीमाथि कुटपिट गरी घरबाट निकालेका छन् । केही वर्षअघि विभागबाट अवकाश पाएका एसपी विष्टले २०७७ माघ ३ गते शनिबार विवाह गरेका थिए । मागी विवाह गरेका उनको यो दोस्रो विवाह हो ।
७० वर्षीया श्रीमती ‘रमिला विष्ट’ (नाम परिवर्तन) लाई राजधानीको भद्रकालीस्थित मन्दिरमा विवाह गरेका थिए । पहिलो श्रीमतीको निधन भएपछि दोस्रो विवाह गरेका उनले ती महिलालाई विवाहपछि राजधानीको नारायणटारस्थित घरमा भित्र्याएका थिए । उनको घरमा भित्र्याएपछि ती महिलाले आफू बस्दै आएको घरको लाखौँको सामान गरगहना र व्यवसायको सामग्री समेत विष्टको घरमा लगेकी थिइन् । केही महिना उनीहरुबीच सम्बन्ध सुमधुर बन्दै थियो । तर, विवाहपछि विष्टले रमिलामाथि श्रीमतीको भन्दा घरेलु कामदारको व्यवहार गरेको पीडित महिलाको आरोप छ ।
‘विवाहपछि मलाई घरेलु कामदारको रुपमा व्यवहार हुन थाल्यो । त्यो पनि मैले सहेर बसेँ । तर, केही महिनापछि मैले विवाह दर्ता र श्रीमानको नामबाट नागरिकता मागेँ,’ ती महिलाले भनिन्, ‘नागरिकता र विवाह दर्ता मागेपछि ममाथि दुर्व्यवहार हुन थाल्यो । यहाँसम्म कि मलाई उनका भाइ मधुकर विष्ट र सुदीपजंग विष्टले कुटपिट पो गर्न थाले ।’
विष्ट दाजुभाइको कुटपिटपछि उनीहरुको मुद्दा प्रहरीसम्म पुगेको थियो । तर, महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन डीएसपी नविन कार्कीले पीडितलाई न्याय दिलाउनुको सट्टा पीडकलाई सहयोग गरेको पीडित महिलाको आरोप छ । ‘प्रहरी कार्यालयमा रहेको महिला कर्मचारीको कुर्सीमै मलाई कुटपिट गर्ने र अन्याय गर्नेहरु बसेका थिए । उनीहरुले कुर्सी नै कब्जा गर्दा पनि त्यहाँका प्रहरी निरीह बने,’ ती पीडित महिलाले भनिन्, ‘प्रहरीमा उजुरी परेदेखि मलाई घरबाट निकालिएको छ । बाहिर कुनै सामाजिक सञ्जालमा ममाथि भएको घटना सार्वजनिक समेत गर्न नपाइने कागजमा हस्ताक्षर गराइएको छ ।’
पीडित महिलाका अनुसार उनलाई विष्ट दाजुभाइले कुटपिटको घटना बाहिर ल्याए कारबाही गर्ने र ज्यानै लिने धम्की दिएका छन् । धम्कीपछि ती पीडित महिला घटना भएको एक महिनासम्म घर समेत जान पाएकी छैनन् ।
‘म अहिले बस्ने ठाउँ समेत नभएर समस्यामा छु । मेरो विवाहअघिको सामान पनि रमेशजंग विष्टकै घरमा कब्जा गरेर राखिएको छ । मलाई यतिबेला आश्रयस्थल चाहिएको छ । विभिन्न निकायमा धाएको छु । तर आश्रयस्थल समेत पाएको छैन’, पीडित महिलाले भनिन्, ‘दिनरात रोएर बितेको छ । न कोहीले सुनेको छ मेरो व्यथा ।’
पीडित महिलाका आफन्तले पूर्वएसपी विष्टले विवाह गरेको भिडियो र तस्बिर समेत लिएर विभिन्न कार्यालय धाउँदा पनि न्याय नपाएको बताए । विष्ट दाजुभाइले रमिलाको २५ लाखबराबरको ब्युटिपार्लर व्यवसायको सामग्री र लाखौँको गरगहना कब्जा गरेर राखेका छन् । ‘मलाई घर प्रवेशमा रोक लाइएको छ । कुटपिटपछि म एउटा मोबाइलको भरमा घरबाट निस्किएको हुँ’, पीडित रमिलाले आर्थिक दैनिकलाई भनिन्, ‘गुप्तचर प्रहरी नै भएका कारण मलाई पीडा दिनेविरुद्ध उजुरी लिन समेत प्रहरीले मानिरहेको छैन । मेरो कुरा त केही सुनुवाइ नै भएन ।’
उनका अनुसार घटना भएपछि जम्मुडाँडा प्रहरीले उजुरी समेत लिन मानेको थिएन । तर, पीडितले दिएको उजुरी दर्ता नभएपछि उनी बौद्ध प्रहरीमा पुगेकी थिइन् । बौद्ध प्रहरीले पीडकलाई पक्राउ गर्नुको सट्टा पीडितलाई नै धम्की दिएको पीडितको भनाइ छ । प्रहरी कार्यालयमै भएको सम्झौतामा पीडितले आफूमाथि भएको पीडा कतै बोले साइबर अपराधमा मुद्दा लगाइने धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ ।