काठमाडौं । कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।
साथै मन्त्रालयले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए । ‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ’, उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आईसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।’
नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार चार सय ५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार चार सय दुई व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार छ सय ३७ को संक्रमणबाट निधन भइसकेको छ ।