एजेन्सी नयाँ दिल्ली, माघ ८
दक्षिण कोरियाली मोबाइल डिस्प्ले निर्माता सामसुङ डिस्प्लेले भारतमा कारखाना खोल्ने भएको छ । यसका लागि ५० करोड डलर लगानी गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ । सामसुङ डिस्प्लेको मातृकम्पनी सामसुङ इलेक्ट्रोनिक्स कमपनी हो । सामसुङले स्मार्टफोन उत्पादन विस्तार गर्न लागेको बताइएको छ । कम्पनीले फ्याक्ट्री खोलेमा त्यो भारतका लागि वरदान साबित हुनेछ ।
यसले भारतको ‘मेक इन इन्डिया’ कार्यक्रमलाई सघाउ पुग्ने अपेक्षा गरिएको छ । योजनामा सामसुङ इलेक्ट्रोनिक्सले ३५ अर्ब भारु ऋण दिनेछ । भारतको नोइडामा फ्याक्ट्री खुल्नेछ । डिस्प्ले युनिटका लागि ९२ करोड भारु छुट्याइएको पनि उल्लेख गरिएको छ । नोइडामा सामसुङले स्मार्टफोन निर्माण गरिरहेको छ । गत वर्ष चीनमा कम्पनीले स्मार्टफोन उत्पादन बन्द गरेको थियो । भारत स्मार्टफोनका लागि ठूलो बजार हो । चिनियाँ कम्पनीको कारण सामसुङलाई प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहिरहेको अवस्थामा भारतमा आफ्नै फ्याक्ट्री हुँदा यसले व्यवसायलाई सहज र प्रभावकारी बनाउने बताइएको छ ।