नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार तीन सय ८३ जना कोरोनाभाइरसबाट संक्रमित नयाँ थपिएका छन् ।
अघिल्ला केही दिनको तुलनामा यो संख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि बृद्धि भएको हो । सोही अवधिमा संक्रमण मुक्त भएकाहरुको संख्या पनि थपिएका संक्रमितहरुको संख्या भन्दा धेरै रहेकाले समेत सक्रिय संक्रमितको संख्या समेत बढ्दै गइरहेको छ । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ३८ हजार छ सय ५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड चार लाख २९ हजार तीन सय ३९ पुगेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या चार लाख नौ हजार तीन सय ९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो संख्या कुल संक्रमितहरुको संख्याको १.३१ प्रतिशत मात्रै हो । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या चार लाख १८ हजार नौ सय ८७ रहेको छ । तीमध्ये पाँच सय सात जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार सात सय १२ स्वाब परीक्षण गरिएको छ । तीमध्ये १७ लाख १८ हजार चार सय ३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।