काठमाडौँ । वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्याएर रकम ठगी गरेको अभियोगमा तीन जनालाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका–४ हरिहरपुर स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१८ भकुण्डे बस्ने २४ वर्षीय विकास भन्ने विनोद भुसाल, कास्की पोखरा महानगरपालिका–२ मिरुवा वतन भएका ३१ वर्षीय पुकार गुरुङ र सोही महानगरपालिका–१२ रानीपौवा वतन भएका ३० वर्षीय प्रकाश गुरूङ छन् ।
विनोदले विगत दुई वर्षदेखि पुकार, प्रकाशलगायतका व्यक्तिहरूको बैंक खातामा पटक–पटक गरी पीडितलाई ७४ लाख नौ हजार पाँच सय रुपैयाँ रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने खबर साउन १ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनी २५ लाख रुपैयाँ ठगी गरेको कसुरमा विनोदलाई जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारबाही गरेको, अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषि फर्ममा वर्क परमिट भिसा दिलाउँछु भनी प्रलोभन देखाई विनोदसँग सम्पर्क गरी भनेबमोजिम गर्नु भनी पीडितलाई विश्वास दिलाएको र विनोदले विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको साथै उनीहरूले अमेरिकी एम्बेसी काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।