बेइजिड. । चीनको यात्रु सेवाप्रदायक कम्पनी दिदीको सेयर मूल्य न्युयोर्कको सेयरबजारमा ११ प्रतिशतले ओरालो लागेको छ । बेइजिङका सरकारी नियामकीय अधिकारीले कम्पनीलाई जरिवाना गर्ने तयारी गरिरहेका समाचार प्रकाशित भएसँगै कम्पनीको सेयर मूल्य घटेको हो ।
गत महिनाको अन्त्यतिर दिदी अमेरिकी सेयरबजारमा प्रवेश गरेको थियो । सो क्रममा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मार्फत चार अर्ब ४० करोड डलर बजारबाट उठाएको थियो । त्यसको ठीक दुई दिनपछि नै चीनको इन्टरनेट नियामकले कम्पनीले संकलन गर्ने तथ्यांकबारे अनुसन्धान सुरु गरेको थियो ।
चीनले कम्पनीलाई जरिवाना, केही ठाउँको व्यवसाय बन्द वा कम्पनीमा सरकारी लगानी बन्द गर्नसक्ने ब्लुमबर्ग न्युजले समाचारमा उल्लेख गरेको थियो । त्यसमा कम्पनीलाई अमेरिकी सेयरबजारबाट बाहिरिन निर्देशन दिनेसम्मको कुरा उल्लेख भए पनि सेयरमूल्यमा प्रभाव पारेको बताइएको छ ।
चीनले यसै वर्षको सुरुतिर अलिबाबामाथि पनि जरिवाना गरेको थियो । जुलाईको सुरुमै साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी)ले अनलाइन स्टोरहरुबाट दिदी एप अफर नगर्न भनेको थियो । यसले अवैधानिक रुपमा प्रयोगकर्ताको व्यक्तिगत सूचना जम्मा गर्ने गरेको चीनको आरोप छ ।
न्युयोर्क स्टक एक्सचेन्जमा जुन ३० मा प्रवेश गरेयता कम्पनीको सेयर मूल्यमा २७ प्रतिशत बढीको गिरावट आएको बताइएको छ । तर यसबारे कम्पनीले अहिलेसम्म औपचारिक धारणा भने सार्वजनिक गरेको छैन ।
पछिल्लो समय चीनले क्वाशाउ, टेन्सेन्टको क्युक्यु, अलिबाबाको ताओबाओ र वेईबोजस्ता इन्टरनेट कम्पनीमाथि बालबालिकासम्बन्धी असहयोगी विषयवस्तु हटाउन नै भनेको छ ।
त्यस्तै अर्को सरकारी संस्थाले १२ वटा कम्पनीलाई ‘एन्टि–मोनोपोली रुल्स’ उल्लंघन गरेको आरोपमा जरिवाना गरिसकेको छ । त्यसमा टेन्सेन्ट, बैदू, दिदी, सफ्टबैंक, बाइटीडान्स लगायतका चर्चित कम्पनी परेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नै इन्टरनेट कम्पनीमाथि निगरानी बढाउन निर्देशन दिएको राज्यसमर्थित टेलिभिजन सीसीटीभीले जनाएको छ ।