काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तरिक पर्यटन प्रवर्द्धन योजना सार्वजनिक गरेको छ । बैकले आफ्नो बैंकमा कार्यरत कर्मचारीहरूले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्यरूपमा भ्रमण गर्नेगरी बिदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।
कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरूको आवतजावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीकाकारण पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरूको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरूले अनिवार्यरूपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो ।
बैंकमा हाल तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा दुई सय ७३ शाखा, दुई सय ४८ एटीएम, दुई सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । बैंकले २३ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।