काठमाडौं । यस साता सेयरबजार परिसूचक तीन हजार चार दशमलव ३१ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ६२ दशमलव २४ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २२ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख २३ हजार तीन सय ३१ पटकको कारोबारमा १५ करोड ४० लाख छ हजार सात सय दुई कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय ८५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ५२ हजार दुई सय ४३ पटकको कारोबारमा १७ करोड ३१ लाख ९६ हजार नौ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार सात सय ५४ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये तेस्रो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने पहिलो, दोस्रो, र पाँचौँ अर्थात् अन्तिम कारोबार दिन बजार परिसूचक उकालो लागेको थियो । चौथो कारोबार दिन भने नेप्से घटेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक ९७ दशमलव २१ अंकले उकालो लागेर २९ सय ८० दशमलव ६१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ५५ बिन्दुले उकालो लागेर पाँच सय ६० दशमलव ९६ बिन्दुमा चढेको थियो ।
दोस्रो दिन पनि बजार परिसूचक १३ दशमलव ९७ अंकले उकालो लागेर दुई हजार नौ सय ५४ दशमलव ५८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य दुई बिन्दुले ओरालो लागेर पाँच सय ६० दशमलव ९४ बिन्दुमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक नौ दशमलव एक अंकले ओरालो लागेर दुई हजार नौ सय ८५ दशमलव ५७ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८२ अंंकले ओरालो लागेर पाँच सय ५८ दशमलव ११ बिन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । पाँचौँ दिन भने बजार परिसूचक १८ दशमलव ७५ अंकले उकालो लागेर तीन हजार चार दशमलव ३१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले उकालो लागेर पाँच सय ६२ दशमलव २४ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
