काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको आइतबारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिनेछ तर अन्य पसल भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेन्ट तथा फाष्टफुड तथा अन्य अर्डरहरूको हकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्विमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाउने उल्लेख छ । यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाइने तथा नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइनेछैन ।
यस्तै, सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ । टेम्पो र निलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
लामो दूरीका सवारीसाधन मापदण्ड पालना गरेर चलाउन पाइनेछ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ । गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षणजस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदि उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।