काठमाडौं । साउन ३ गते संघीय संसद्मा विश्वासको मत लिने बेला सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता कोरोनाविरुद्धको खोप भएको बताएका थिए । प्रधानमन्त्रीले २०७८ सालसम्म अर्थात् आउँदो चैतसम्म सबै नेपालीलाई खोप लगाउने दाबी पटक–पटक गर्दै आएका छन् ।
प्रधानमन्त्री देउवाको दाबी र अहिलेको अवस्था हेर्दा भने तालमेल भएको देखिएको छैन । साउन १० गते आइतबारसम्म १३ लाख ९८ हजार एक सय ७८ जनाले मात्र कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् भने ३३ लाख ८३ हजार ३८ जनाले पहिलो मात्रा लगाएका छन् । खासगरी महिनौँ अगाडि कोभिसिल्डको पहिलो मात्रा लगाउने ठूलो संख्या अझै दोस्रो मात्र लगाउन नपाएर त्रसित छन् ।
आइतबारसम्म जति पनि खोप आएर लगाउने काम भएको छ ती सबै केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ल्याएका र ल्याउन सम्झौता भएका खोप नै हुन् । अझै पनि ओली सरकारसँग भएका प्रतिबद्धताअनुसारको खोप आउने तयारी छ । प्रधानमन्त्री देउवाको दाबीअनुसार सबै नेपालीलाई पूर्ण खोप आउँदो चैत मसान्तभित्रमा लगाइसक्ने हो भने खोप उत्पादक देशका कम्पनीसँग खोप ल्याउने विषयमा सम्झौता भइसक्नुपर्ने थियो । तर, देउवा नेतृत्वको सरकारले नयाँ मुलुक तथा कम्पनीसँग खोप ल्याउने विषयको एउटा पनि सम्झौता गरेको छैन ।
अहिले जताततैबाट खोपको माग बढेको छ । सरकारले मागअनुसार मात्र होइन तोकिएको उमेर समूहअनुसार पनि खोप उपलब्ध गराउनसकेको छैन । काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा दैनिक रुपमा लागेका भीडले देखाउँछ कि खोपको आपूर्तिभन्दा माग सयौँ गुणा बढी छ । विभिन्न स्थानीय तहले खोप केन्द्र तोकेको ठाउँमा मानिसहरुको बिहानैदेखि भीड लाग्ने गरेको छ । काठमाडौंका धेरै ठाउँमा खोप केन्द्र हुने भएको कारण कतिपय युवाहरु खोपकै लागि काठमाडौं आउन थालेका छन् ।
बाहिरी जिल्लामा सीमित मात्रामा खोप जाने भएको कारण लगाउन नपाएपछि काठमाडौं आसपासका जिल्लाका युवाहरु खोपकै लागि पनि काठमाडौं आएका छन् । पहिलो मात्रा खोप लगाएपछि दोस्रो मात्रा जहाँ पनि लगाउन पाइने आशमा काठमाडौंमा खोप लगाउन आएको नुवाकोटका एक युवाले आर्थिक दैनिकलाई बताए । ‘पहिलो खोप काठमाडौंमा लगाएपछि दोस्रो खोप त जता पनि लगाउन पाइएला, त्यही भएर खोप लगाउन काठमाडौं आएको हो’, ती युवाले शनिबार बिहान आर्थिक दैनिकसित भने ।
कोरोनाको कारण छिमेकी भारतमा एक वर्षको अवधिमा करिब ४० लाख मानिसले ज्यान गुमाएको भन्ने रिपोर्टहरु सार्वजनिक भइरहेका बेला फेरि भारतमा कोरोनाको तेस्रो लहर सुरु भएको छ । दोस्रो लहर पनि भारतभन्दा नेपालमा केही महिनापछि मात्र सुरु भएको कारण तेस्रो लहर पनि केही महिनापछि नेपालमा भित्रिने त्रास आम नागरिकमा छ । नागरिकमा कोरोनाको एकपछि अर्को त्रास बढेको बेला नयाँ सरकारले खोप ल्याउने विषयमा खासै प्रगति गर्नसकेको छैन ।
खोपको मात्र अधिक भएको बेला प्रधानमन्त्री देउवाले आइतबार मात्र स्वास्थ्य मन्त्रालयमा व्यापारिक पृष्ठभूमिका व्यक्ति उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्नुको अर्थ उनले खोप खरिदका लागि हुने कमिसन एकलौटी आफ्नो हात पार्न गरेको प्रयास मात्र हो । देउवालाई आर्थिक सहयोग गरेको कारण कांग्रेसको समानुपातिक कोटामा सांसद भएको कारण खरिद प्रक्रियामा जति कमिसनको खेल हुन्छ त्यसको हिसाब राज्यमन्त्री श्रेष्ठले लिने देखिँदैन ।
कोरोनाको तेस्रो लहरबाट बच्न विज्ञहरुले प्रधानमन्त्री देउवालाई पूर्वतयारी गर्न आग्रह गरेका छन् । तर, सरकारले सबैभन्दा भीड हुने सार्वजनिक यातायात पनि देशभर सञ्चालनको अनुमति दिएको छ । ती यातायातका साधनमा स्वास्थ्य सावधानी अपनाउन सकेको छैन । तर, पनि मानिसहरुको भीड बढेको छ ।
आम नागरिकमा रोगभन्दा भोकले मर्न लागिएको भन्ने अर्को त्रास छ । त्यसलाई रोक्नसक्ने सामथ्र्य पनि सरकारसँग छैन । अब क्रमशः चाडबाड सुरु हुन लागेको कारण आम नागरिक कमाउनका लागि बाध्य भएर घर बाहिर निस्कनेछन् । उनीहरुलाई घरमै रोकेर भीड नियन्त्रण गर्न सक्ने अवस्थामा सरकार छैन । मानिसहरु बाध्य भएर घरबाट बाहिर निस्कँदा सरकारले खोप ल्याउन सकेको भए सम्भावित ठूलो विपत्ति नियन्त्रणमा राख्न सहयोग पुग्ने थियो । तर, सरकार खोप भनिरहेको छ तर खोप कहाँबाट ल्याउने अझै टुंगोमा पुग्नसकेको छैन ।
सडकमा निस्कने सबै नेपालीको माग खोप छ । नेपालमा खोप लगाउनको संख्या अत्यन्त न्यून छ । भारतमा कोरोनाको तेस्रो लहर देखा परिसकेको छ । नेपालमा दोस्रो लहर नै नियन्त्रण गर्न सरकारले सकेको छैन । विज्ञहरुले कोरोनाको तेस्रो लहर दोस्रोभन्दा कयौं गुणा बढी हुने तर्क गरिरहेका बेला सरकारले कोरोनाविरुद्धको थप खोप भने उपलब्ध गराउनसकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले विकास खर्च कटौती गरेर भए पनि थप खोप ल्याउने बताइरहे पनि कहाँबाट खोप ल्याउन भन्नेमा सरकार अझै निर्णयविहीन अवस्थामा छ । ‘यो वर्षभित्रै खोप त सबैलाई दिने भनेका छौँ तर कहाँबाट ल्याउने सम्झौता हुनसकेको छैन’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।
सरकारले आइतबारसम्म कोभिसिल्डको चार लाख ६० हजार तीन सय आठ, भेरोसेलको छ लाख ९४ हजार पाँच सय ५५ र जे एण्ड जेको दुई लाख ४३ हजार तीन सय १५ जनालाई मात्र दोस्रो मात्र कोरोनाविरुद्धको खोप दिएको छ । १८ लाख २८ हजार चार सय ८४ जनालाई कोभिसिल्ड खोप लगाए पनि १३ लाख ६८ हजार एक सय ७६ जना दोस्रो मात्राबाट वञ्चित छन् । भेरोसेल पहिलो मात्र लगाउनेहरु भने दोस्रो मात्रा सजिलै लगाउन पाउने छन् । सरकारले भेरोसेल भने दोस्रो मात्राको लागि पनि स्टक राखेको छ । भारतले पैसा लगेर पनि कोभिसिल्डको खोप नदिएको कारण दोस्रो मात्रा लगाउन धेरै बाँकी रहेको हो ।
आइतबार १३ हजार आठ सय ३४ जनाको कोरोना परीक्षण गर्दा दुई हजार दुई सय ३७ जनालाई कोरोना पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । आइतबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार सात सय १३ जना पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समयमा नेपालमा कोरोना परीक्षण गरिएकामध्ये १५ देखि २५ प्रतिशतसम्ममा कोरोना देखिन थालेको छ । स्वास्थ्यसम्बन्धी लापरबाही बढेको कारण कोरोना संक्रमितको संख्या बढ्नथालेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै अझै पाँच हजार छ सय १६ जना कोरोनाका सक्रिय संक्रमित छन् । भक्तपुरमा नौ सय १० र ललितपुरमा एक हजार ८९ जना सक्रिय संक्रमित छन् ।