काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रूपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ ।
नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरू बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो । यो नौलो केटाकेटी जीवन बीमा योजनामा एक वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको पाँँच वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाख रुपैयाँदेखि आम्दानीको आधारमा अधिकतम बीमांक छनोट गर्न सकिने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
स सावधिक जीवन बीमालेखमा एक वर्षदेखि सात वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट दुुई वर्ष पूरा भएपश्चात् वा सात वर्ष उमेर पूरा भएपश्चात् (जुन पछि आउँछ) मात्र बीमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरी बीमितको उमेर आठ, नौ वर्र्ष भएमा १० वर्ष पूरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको वार्षिकोत्सव मितिदेखि बीमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।
बीमालेख परिपक्व अवधिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ट प्रदान हुनेछ । कथमकदाचित बीमाको जोखिम प्रारम्भ हुनुअगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्कबाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ । त्यसैगरी बीमा जोखिम प्रारम्भपश्चात् बीमितको मृत्यु भएमा तत्काल बीमांक रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमांक रकम र आर्जित बोनस रकम ब्याजसहित एकमुष्ट बीमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिनेछ ।
वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा तीन वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । यदि बीमाशुल्क छुट सुविधा लिएको छ भने यस बीमालेखले प्रस्तावकको जोखिम समेत बहन गर्ने छ । बीमालेख चालू रही बीमा अवधिभित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अंगभंग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक एक सय २० समान किस्ता मा अपाङ्ग अशक्त सुविधा उपलब्ध गराइनेछ ।
मासिक आय सुविधा लिएको अवस्थामा बीमालेख प्रारम्भ भएपश्चात् बीमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमांकको १ प्रतिशत रकम मासिक रूपमा केटाकेटी १८ वर्ष वा बीमा अवधि समाप्ति (जुन अगाडि आउँछ)सम्म कम्पनीले उपलब्ध गराउनेछ । त्यसैगरी बच्चाको जोखिम कभर सुविधा लिएका बीमितको हकमा बीमा प्रारम्भ भएको २ वर्षपश्चात् नै बच्चाको जोखिम बहन गर्न सकिनेछ ।
समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू इ–सेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।
ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकताअनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले आर्थिक गत वर्षको तेस्रो त्रैमासिक अवधिमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ४६ करोड ७५ लाख ७६ हजार तीन सय ४१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार छ सय ६१ रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी नौ रुपैयाँ ३८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २३ रुपैयाँ ९२ पैसा रहेको छ ।