नयाँ दिल्ली । भारतमा भारी मनसुन वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या आइतबार एक सय २४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौँ हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ । भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
महाराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको संख्या एक सय १४ पुगेको छ । पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।
चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको वर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षापछिको डुबानका कारण विद्युत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो । उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर विद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो ।