ढाका । भारतले ‘छिमेकीलाई पहिला’ भन्ने नीतिअन्तर्गत बंगलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । कोरोनाभाइरसबाट संक्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बंगलादेशका अधिकारीहरूले बताएका छन् ।
अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन् । भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिए ।
‘छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौँ, त्यही नीतिअनुसार भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ’, उनले ट्विटरमा लेखेका छन् । भारतीय रेल सेवामार्फत दुई सय मेट्रिकटन तरल मेडिकल अक्सिजन (एलएमओ) उपलब्ध गराइएको पनि उनले जानकारी दिए ।
दक्षिण एसियाली मुलुक बंगलादेशमा अहिलेसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने १९ हजार दुई सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार दुई सय ९१ जना संक्रमित भएको र दुई सय २८ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।