अमेरिका । चर्चित बहुराष्ट्रिय इकमर्स कम्पनी अमेजनले बिटक्वाइन स्वीकार्नसक्ने चर्चाबीच भर्चुअल मुद्राको मूल्य आकाशिएको छ । सोमबार सबैभन्दा ठूलो डिजिटल मुद्रा मानिएको बिटक्वाइनको मूल्य ३९ हजार सात सय ७० अमेरिकी डलर प्रतिक्वाइन पुगेको हो ।
केही दिनयता अमेजनले क्रिप्टोकरेन्सीबाट भुक्तानी कारोबार सुरु गर्नसक्ने समाचारहरु प्रकाशित भइरहँदा बिटक्वाइनको मूल्य आकाशिएको हो । पछिल्लो कारोबारमा बिटक्वाइन ११ प्रतिशतले बढेर ३८ हजार दुई सय अमेरिकी डलरमा कारोबार भएको क्वाइनबेस डेटाले जनाएको छ । यो मध्यजुनयता पहिलोपटक देखिएको मूल्यवृद्धि हो । गत हप्ता यसको मूल्य प्रतिक्वाइन ३० हजार अमेरिकी डलरमा झरेको थियो ।
बिटक्वाइनमात्र नभई अन्य भर्चुअल मुद्राको मूल्य पनि बढेको बताइएको छ । एथेरियम नामक अर्को मुद्राको पनि आठ प्रतिशतले बढेर दुई हजार तीन सय प्रतिक्वाइन अमेरिकी डलर पुगेको छ । यसबाहेक कार्डानो नौ प्रतिशतले बढेर एक डलर ३४ सेन्ट प्रतिक्वाइन मूल्य पुगेको छ । योसँगै कुल क्रिप्टोबजार पुँजीकरण झण्डै एक खर्ब २० अर्ब डलरले वृद्धि भएको छ ।
अमेजनले डिजिटल करेन्सी र ब्लकचेन प्रोडक्ट लिडको विज्ञापन गरेपछि क्रिप्टोबजारमा उत्साह देखिएको हो । अमेजनको विज्ञापनमा भनिएको छ, ‘संसारकै ठूलो इकमर्स कम्पनीहरुमध्येको एक रहेको अमेजनले अमेजनले सुरक्षित अनलाइन कारोबारबाट अर्बौँको भुक्तानी प्रक्रिया अपपनाइरहेकोले आफ्नो द पेमेन्ट एक्सेप्टेन्स एन्ड एक्सपिरियन्स टिमले अमेजनको डिजिटल करेन्सी र ब्लकचेन रणनीति र प्रोडक्ट रोडम्याप विकास गर्न अनुभवी प्रोडक्ट लिडर खोजिरहेको छ ।’ यसको लागि अमेजन प्रतिबद्ध र योजनाबद्ध रुपमा लागिरहेको छ । त्यसमा बिटक्वाइनलाई पहिला स्वीकार्ने पक्षमाा अमेजन देखिएको हो । अमेजनले सन् २०१९ यता नै क्रिप्टो भुक्तानीको लागि गोप्य रुपमा तयारी सुरु गरेको दाबी एजेन्सीहरुले गरेका छन् ।
चीनले क्रिप्टोसम्बन्धी सबैजसो कारोबारमा कडाइ गरेपछि बिटक्वाइनलगायत भर्चुअल मुद्राको मूल्य पछिल्लो समय घटिरहेको थियो । त्यसअघि विद्युतीय कार कम्पनी टेस्लाले पनि यसअघि स्वीकार्ने घोषणा रद्द गरेका कारण मूल्यमा ह्रास आएको थियो । अहिले टेस्लाका मालिक एलन मस्कले पनि पुनः स्वीकार्नसक्ने बताएका छन् । यसले पनि पछिल्ला दिनमा बिटक्वाइनलगायतका अन्य डिजिटल मुद्राको मूल्य बढाएको बताइएको छ । त्यसमा अमेजनले इँट्टा थप्ने काम गरेको हो ।