काठमाडौं । एनआईसी एसिया बैंक २४औँ वर्षमा प्रवेश गरेको छ । २४ वर्षअघि सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएकोे आफ्नो अतुलनीय सहयात्राको फलस्वरूप बैक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको दाबी सो अवसरमा बैंकले गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्यालगायतका अधिकांश प्रमुख वित्तीय एवं गैरवित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौँ, बैंकले विज्ञप्तिमार्फत भनेको छ । यस दौरानमा हामीलाई सदैव साथ दिई तथा हामीप्रति अगाध स्नेह एवं भरोसा दर्शाई आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइदिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरूलगायत सबै सरोकारवालाहरूप्रति अत्यन्त अनुग्रहित रहँदै सबैमा सादर नमन गर्दछौँ, बैंकले भनेको छ ।
नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ, जे छौँ र जस्तो आकारका छौँ त्यसको सम्पूर्ण श्रेय स्वभाविक रूपमा यहाँहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्नसक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प गर्दछौँ, बैकले भनेको छ ।
२४ वर्षसम्ममा आइपुग्दा हामी मुलुकभर फैलिएको देशकै सबैभन्दा ठूलो सञ्जालमार्फत तीन सय ५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखारहित बैंकिङ सेवा तथा चार सय ७१ एटीएममार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएका छौँ ।
बैंकिङ क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी यस बैंकले ग्राहकहरूसमक्ष सहज एवं गतिशीत माध्यमबाट विश्वसनीय तथा ग्राहकमैत्री सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आइरहेका छौँ । हामीले अवलम्बन गरेको कुशल रणनीति तथा प्रदर्शन गरेको व्यवस्थापकीय कार्य कौशलताको फलस्वरूप कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा समेत बैंकले आव २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न हामी सफल भएका छौँ ।
कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै हो । आव २०७७/७८ मा समग्र बैंकिङ क्षेत्रतर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३ दशमलव ५८ प्रतिशत बजार हिस्सा हासिल गर्न हामी सफल भएका छौँ ।
गौरवमय २४औँ वर्षमा प्रवेश गरेको यस अवसरमा बैंकले आफ्ना ग्राहकहरूमाझ विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएका छौँ । जसअन्तर्गत यस बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी पस तथा इ–कर्मसमा भुक्तानी गर्दा तथा एनआईसी एसिया मोबाइल बैंकमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतमा पाँच सय रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिनेछ । वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एनआईसी एसिया मोबाइल बैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।