काठमाडौं । पर्यटकीय नगरी ठमेलमा चिनियाँ नागरिकले अवैध मदिरा व्यवसाय गरिरहेको पाइएको छ । प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५६ वर्षीय चिनियाँ नागरिक ५६ वर्षीय सी झि वीईलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा मिनभवनका सम्पर्क अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार महाशाखाबाट खटिएको प्रहरीले उनलाई ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी अवैध मदिरा उत्पादन गरी बिक्रीवितरणको लागि तयार पारेको अवस्थामा फेला पारी शुक्रबार पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार उक्त होटलबाट चारवटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट््यांकी, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका एक सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको मदिरा समेत बरामद गरिएको छ । उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय महाराजगञ्ज पठाइने प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत म्याग्दीबाट कैद तथा जरिवाना ठहर भई फरार भएका दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारीअनुसार जिप्रका म्याग्दीबाट खटिएको प्रहरी टोलीले मालिका गाउँपालिका–५ बस्ने २८ वर्षीय देवेन्द्र फगामी र मंगला गाउँपालिका–५ बस्ने २९ वर्षीय बिर्सना सुनारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा फगामीलाई छ महिना कैद तथा आठ लाख १३ हजार दुुई सय २१ रुपैयाँ जरिवाना तोकिएको छ । यसैगरी सुनारलाई पनि कैद तथा सात लाख १० हजार चार सय ९४ रुपैयाँ जरिवाना ठहर भएको छ । पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको प्रहरीले जानकारी दिएको छ ।
३३ किलो सुनकाण्डका फरार प्रतिवादी भण्डारी पक्राउ
काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सञ्जीव शाक्यको जाहेरीले वादी नेपाल सरकार सुरेन्द्र गौतम समेत भएको आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी जिल्ला गौरादह न.पा ८ वस्ने भोजे मामा भन्ने भोजराज भण्डारी (मोरङ जिल्ला अदालतबाट म्याद जारी ३३ किलो सुनकाण्ड) लाई यही साउन १५ गते शुक्रबार महानगरीय प्रहरी परिसरबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।