काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन छवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वाग्मती प्रदेशमा तीनवटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा छवटा नयाँ शाखाहरू विस्तार गरेको हो ।
प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लबिपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वाग्मती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । योसँगै अब मेगा बैंकको शाखा संख्या एक सय ८४ पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरू सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ ।