ढाका । बंगलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका संक्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ ।
बंगलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । संक्रमण सुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै संकट नपरेकोमा पछिल्लो समयमा यहाँ संक्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संक्रमणबाट बंगलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
बंगलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ । तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ । यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो । आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ ।