विराटनगर । लामो समयदेखिको बन्दाबन्दी र कोभिड १९ बाट ग्रस्त विराटनगर बजारको व्यवसायमा खाद्यान्नको कारोबार गर्ने एक व्यावसायिक प्रतिष्ठानलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारबाही गरेपछि उसले कोभिडकालमा गरेको ठगीका प्रकरण धमाधम खुल्न थालेका छन् ।
विराटनगर बजारमा सञ्चालन रहेको कपिश इन्टरप्राइजेजले उपभोक्तासँग महँगो मूल्य असुली र म्याद गुज्रिएका वस्तु बिक्रीवितरण गरेका कारण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट कारबाही भोगेको थियो ।
गत आर्थिक वर्षको असार मसान्त सकिनासाथ उक्त व्यावसायिक प्रतिष्ठानबाट सरकारलाई बुझाउने राजस्वमा समेत व्यापक ठगी गरिरहेको रहस्यहरू सार्वजनिक भएका छन् ।
कपिश इन्टरप्राइजेजले लामो समयदेखि आफ्नो खाद्यान्यको कारोबारमा सरकारी भ्याटदेखि आयकरमा समेत व्यापक ठगी गरेको रहस्य खुलेको हो । कपिश इन्टरप्राइजेजले आर्थिक वर्ष ०७५/०७६ देखि नै राज्यलाई बुझाउने भ्याटको विवरण अत्यन्त न्यून रहेको आन्तरिक राजश्वस्रोतले बताएको छ ।