काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट क्षतिग्रस्त पुरानो संसद् भवनलाई संग्रहालय बनाउने योजना रहेको बताएका छन् । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भई हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको सोमबार अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताए ।
सभामुख सापकोटाले ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण यस भवनको प्राविधिक अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । भूकम्पका कारण जीर्ण अवस्थामा रहेको भवन सदुपयोग गर्ने प्रक्रिया प्रारम्भ गर्न अवलोकन गरिएको जानकारी दिँदै उनले पूरै पुनर्निर्माण गर्ने वा रेक्ट्रो फिटिङ गर्ने भन्नेबारे प्राविधिकहरूसँग सल्लाह गरेर अघि बढ्ने बताए ।
सभामुख सापकोटाले भवनको महत्वलाई आत्मसात् गरेर अधिकतम सदुपयोग गर्न छिटै निर्माणको काम सुरु हुने जानकारी समेत दिए । भवनको सदुपयोगका सम्बन्धमा थुप्रै सुझाव प्राप्त भएको जानकारी दिँदै सभामुख सापकोटाले यसलाई संग्रहालय र पुस्तकालयका रूपमा विकास गर्ने सल्लाह आफूलाई सबैभन्दा उपयुक्त लागेको बताए । आजैदेखि सम्बद्ध पक्षसँग छलफल आरम्भ गरेर कुन रूपमा सदुपयोग गर्ने भन्ने निष्कर्षमा पुगिने उनको भनाइ थियो ।
संसद् सचिवालयले स्टोरका रूपमा प्रयोग गरिरहेको ग्यालरी बैठकमा २०१५ सालको पहिलो संसद्देखि २०६२ र ६३ को अन्तरिम संसद्सम्मका बैठकहरू सञ्चालन भएका थिए । राष्ट्रिय पञ्चायतको बैठक समेत हुने सो भवन २०७२ वैशाख १२ को भूकम्पपछि बन्द र अलपत्र अवस्थामा छ । दुई वर्षअघि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवनलाई भत्काएर ‘स्टेट गेस्ट हाउस’ बनाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसयता सो भवनबारे सरकारले कुनै कदम चाल्न सकेको छैन ।