काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप ल्याइने बताएका छन् । जसअनुसार ९७ लाख ८२ हजार खोप प्राप्त भइसकेको र थप एक करोड दुई लाख खोप खरिद गरिने राज्यमन्त्री श्रेष्ठले बताए ।
सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे सोमबार २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड–१९ का संक्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए । उनका अनुसार खरिदमार्फत भेरोसेल ६० लाख मात्रा, १० लाख कोभिसिल्ड (यसअघि खरिद गरिएको), अनुदानमार्फत जापानबाट एस्ट्राजेनिका १६ लाख मात्रा र चीनबाट १६ लाख भेरोसेल आउन बाँकी छ ।
मन्त्री श्रेष्ठले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा एक करोड ५० लाख खोप ल्याइने बताए । लागत सहभागितामा ४० लाख मात्राको भुक्तानी भइसकेको र एक करोड १० लाख मात्रा खोपको भुक्तानी प्रक्रियामा छ । यसैगरी १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ६० लाख फाइजर खोप पनि ल्याइनेछ । उनका अनुसार कुल तीन करोड २३ लाख मात्रा खोपका लागि खरिद प्रक्रिया सुरु भएको छ । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना खोप, ‘जोन्सन एण्ड जोन्सन’ ५० लाख मात्रा र फाइजर ४० लाख मात्रा र एस्ट्राजेनिका २० लाख मात्रा खरिदका लागि प्रक्रिया सुरु गरिएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
अबको दुई हप्तामा भेरोसेल १६ लाख मात्रा र एस्ट्राजेनिका १६ लाख आउने र आगामी माघसम्ममा तीन करोड २३ लाख मात्रा खोप आउने उनले जानकारी दिए । बीपी क्यान्सर अस्पताल र वीर अस्पतालमा सार्वजनिक भएका घटना समाधानका लागि छुट्टाछुट्टै कार्यदल बनाएर काम अघि बढाइएको र बीपी अस्पतालमा आन्दोलन स्थगित गरी अस्पताल गर्नसमेत निर्देशन दिइएको र वीर अस्पतालमा देखिएका समस्या पनि चाँडै समाधान गरिने उनको भनाइ थियो । विदेश जाने प्रयोजनका लागि खोप लगाएकाको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइने, कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीईलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको जनाइएको छ ।
अतिरिक्त जनस्वास्थ्यकर्मी परिचालन गरी कोभिड–१९ को एन्टिजेन र पीसीआर परीक्षणको दायरा विस्तार गरिने कोभिड–१९ को उपचारका लागि अस्पतालमा रिक्त शय्याको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिने, भविष्यमा आइपर्न सक्ने तेस्रो लहरविरुद्ध समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिने भएको छ ।