काठमाडौं, माघ ९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटका नेता कमान सिंह लामाविरुद्ध विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । लामाविरुद्ध नुवाकोट मेगाङकी धनमाया तामाङले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी हुन् । लामाले नुवाकोट मेगाङका धनमाया तामाङ र कामी लामालाई बेलायत पठाउने भन्दै दुवै जनामार्फत नौ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका हुन् । लामाले उनीहरुलाई बेलायतमा रहेको एक होटलमा काम लगाइदिने भन्दै सात/सात लाख मागेको र उनीहरुले दुई जनाको गरी एकमुष्ट नौ लाख ५२ हजार रुपैयाँ दिएको पीडितहरुको भनाइ छ ।
लामाले विशिष्ट समूह अर्थात् युवराज पारस शाहको साथीहरु बेलायत जान लागेको र उनीहरुसँगै बेलायत पठाउने भन्दै ठगी गरेका हुन् । लामाले बेलायतमा शाहको भान्जाको होटेलका काम लगाइदिने बताएको पीडित तामाङले बताइन् । गत वर्षको मंसिर २२ गते बेलायत उडाउने भन्दै लाखौं रकम लिएका कमानसिंहले हालसम्म विदेश पठाउ नसकेको र पैसा समेत फिर्ता नदिएको भन्दै तामाङले प्रहरीमा उजुरी दिएकी हुन् । ‘मंसिर २२ गते बेलायत जानको लागि कागजात नपुगेको भन्दै नेता लामाले केही समयपछि उडाइदिने भन्दै सम्पर्क गरेका थिए तर त्यसपछि क्रमशः एक महिनासम्म भोलि भोलि भनेर उडाउन सकेनन्’, पीडित तामाङले भनिन् ।
सिंहले गत साउनको ३ गते पीडितहरुलाई रकम दिने भन्दै नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए पनि बैंकमा जाँदा चेक बाउन्स भएको थियो । पीडित तामाङले भनिन्, ‘लामाले ००१०१०१०३३२२५५ नम्बरको खाता भएको नौ लाख ५२ हजार रुपैयाँकै इन्भेष्टमेन्ट बैंकको चेक दिएका थिए, बैंकमा जाँदा चेक बाउन्स भयो ।’ लगत्तै सिंहलाई सम्पर्क गरे पनि हालसम्म पीडितहरुले कुनै रकम फिर्ता नपाएको उनको भनाइ छ ।