काठमाडौं । नियमनकारी निकाय बीमा समितिबाट अनुुमतिप्राप्त कारोबार सुरु गर्नुअघि नै निकै विवादमा तानिएको नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रिमा लगानी गर्ने लगानीकर्ताहरूमा केही सञ्चार उद्यमीहरू समेत रहेको देखिएको छ । उच्च स्रोतका अनुसार हिमालयन रिमा देशकै नामुद एक मिडियाले पनि १० करोड रुपैयाँको गोल्डेन सेयर लिएको पाइएको छ ।
कुल सात अर्ब १८ करोडको संस्थापक सेयरमध्ये एक अर्ब रुपैयाँ दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँका दरले सेयर लगानी गरेका छन् । उनीहरूको लगानीबाहेक छ अर्ब १८ करोड रुपैयाँमध्ये केहीलाई गोल्डेन सेयर त केहीलाई नजरानाबापत दिइएको सेयरबाहेक बाँकी सेयरमा भ्रष्टाचार भएको हो । करिब छ अर्ब रुपैयाँबराबरको ६ करोड कित्ता सेयरमा व्यक्ति अनुसार २५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म रकम असुल गरी बाँडचुँड गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गर्दा तीन अर्बभन्दा बढी अवैध रुपमा रकम संकलन गरिएको र सो रकम भूतपूर्व अर्थमन्त्री विष्णु पौडेल, प्रमका आर्थिक सल्लाहकार मोतिलाल दुगड, अर्थसचिव शिशिर कुमार ढुंगाना, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बाँडचुँड गरेका छन् ।