ललितपुर । सात बुँदे प्रतिबद्धतापत्र जारी गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन–२०७८ सम्पन्न भएको छ । नेटवर्क फर द डेभलपमेन्ट अफ एग्रिकल्चर को—अपरेटिभ इन एसिया एण्ड दि प्यासिफिक (नेडाक) संघको संयुक्त आयोजनामा मंगलबार र बुधबार दुई दिन सम्मेलन सञ्चालन भएको थियो ।
सम्मेलनबाट सहकारी संघ/संस्थाहरूले लघुवित्त सञ्चालन गर्दा सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्तअनुरूप सबै सदस्यहरूलाई सहभागी गराउने कुराको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संघ/संस्था, बैंक तथा वित्तीय संस्थाहरू र विकास साझेदारहरूबीच समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीयस्तरमा क्षमता विकास, उद्यम व्यवसाय तथा मूल्य श्रृंखला प्रवर्द्धनक, लगानी वृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लघुवित्तमार्फत सदस्यहरूको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने प्रतिबद्धता जारी गरिएको छ ।
यस्तै अतिविपन्न परिवारलाई सहज रूपमा सीप, स्रोत, पुँजी उपलब्ध गराउँदै सहकारीमार्फत गरिबी न्यूनीकरण, उत्पादकत्व र रोजगारी सिर्जनामा अहम् भूमिका निर्वाह गर्ने, राष्ट्रिय सहकारी बैंकलाई लघुवित्त कारोबार गर्ने सहकारी संघ/संस्थाको प्रवर्द्धक निकायको रूपमा स्थापित गर्ने, विपन्न वर्गमा कार्य गरेका स्थानीय सहकारीहरूको साझेदारीमा लघुवित्त, लघुउद्यम र वित्तीय समावेशीकरण गर्न राष्ट्रिय सहकारी बैंकद्वारा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
यसैगरी सहकारी लघुवित्तको मोडेललाई व्यवस्थित, सुशासित, प्रविधियुक्त र मर्यादित बनाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने र लघुवित्तमार्फत राष्ट्रको गरिबी न्यूनीकरण अभियानमा ठोस भूमिका निर्वाह गर्न वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गर्दै उद्यमशीलता, स्वरोजगार सिर्जना र बचत वृद्धि गरी विपन्नमुखी, सदस्यमुखी लैगिंक एवं वित्तीय समावेशीकरणको अवधारणालाई वित्तीय सेवा प्रवाहमार्फत प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता सम्मेलनमार्फत गरिएको छ ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले ‘गरिबी न्यूनीकरणमा सहकारी लघुवित्त : नेपाल सरकारको नीति तथा कार्यक्रम’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै दोस्रो दिनको कार्यक्रममा बैंकका सञ्चालक महेन्द्र गिरीले ‘लघुवित्तमा सहकारीको भूमिका : नेपालको यथार्थ, संभावना र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा ‘माइक्रोफाइनान्स थ्रो कोअपरेटिभ ग्लोबल एक्प्रियन्स’ विषयक कार्यपत्र एसियाली ऋण महासंघकाको प्रमुख कार्यकारी अधिकृत एलिनीता सान रोकले प्रस्तुत गरेका थिए ।