काठमाडौं । प्रहरीले एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर घर भएका ३४ वर्षीय विनोद चौलागाईंलाई बुधबार राति पक्राउ गरिएको हो ।
रातिको साढे १ बजेको समयमा उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यसैबीच बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेका छन् । प्रहरीका अनुुसार धवलागिरी गाउँपालिका–६ बस्ने २९ वर्षीया भरीमाया गर्बुजालाई बुधबार पक्राउ गरिएको हो । जिल्ला अदालत म्याग्दीबाट उक्त मुद्दामा सात लाख ३८ हजार आठ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई बेनी नगरपालिका–८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।