दोलखा । संस्थागत तथा पूर्वाधार विकासमा बैतेश्वर गाउँपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा अब्बल देखिएको छ । यहाँका केही स्थानीय तहले स्थायी केन्द्र समेत तोक्न नसकेको अवस्थामा बैतेश्वर गाउँपालिकाले भने गाउँपालिकासँगै सबै वडाहरूको प्रशासनिक भवन समेत निर्माण गरिसकेको छ ।
गाउँपालिकाले पालिकाको स्थायी केन्द्र पाडुडाँडामा २० कोठाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनसँगै विभिन्न संरचनाहरू निर्माणसम्पन्न गरेको जनाएको छ । बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाका अनुसार हाल सोही भवनबाट गाउँपालिकाले सेवा दिरहेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा आठ कोठाको एकतले भवन निर्माण गरिएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा थप डेढ तला थप गर्दै साँढे दुई तलाको पक्की भवन निर्माण गरेको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलका अनुसार गाउँपालिकाले भवन निर्माणलगायतका संरचना निर्माणको लागि दुई करोड ५६ लाख रूपैयाँ बजेट छुट्याएको थियो । भवन निर्माण भने एक करोड ५६ लाख रूपैयाँमा सम्पन्न भएको थियो । भवन निर्माणको लागि दुईवटा निर्माण कम्पनी, गोपीगंगा निर्माण कम्पनीले पहिलो तला र मैया निर्माण सेवा कम्पनीले भवनको दोस्रो तला निर्माणले जिम्मा पाएका थिए ।
यस्तै गाउँपालिकाले आठवटै वडामा वडा कार्यालयको भवन पनि निर्माण गरिसकेको छ । त्यसैगरी गाउँपालिकाले पूर्वाधार विकासअन्तर्गत पाँच किलोमिटर पक्की सडक निर्माण र करिब ३५ सय मिटर नयाँ सडक विस्तार गरेको गाउँपालिका योजना अधिकृत रबिन्द्र चौलागाईंले बताए । केन्द्र र प्रदेशबाट गाउँपालिकामा आउने वार्षिक बजेट (समीकरण र समपुरक) अन्य स्थानीयतहको भन्दा कम भए पनि संस्थागत विकासमा बैतेश्वर गाउँपालिका अन्य पालिकाको तुलनामा अगाडि रहेको छ ।