काठमाडौं । देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरुले ऊर्जामन्त्रीलाई आग्रह गरेका छन् । मन्त्रालयमा बिहीबार आयोजित छलफलमा उनीहरुले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकताअनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिएका हुन् ।
पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिए । उनले नयाँ अवधारणाअनुसार जलाशययुक्त आयोजना बनाउनेतर्फ जानुपर्नेमा जोड दिए । गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने तथा विद्युत् महशुल दर घटाउने मन्त्रीको प्रस्ताव उपयुक्त भएको भन्दै उनले यथाशीघ्र कार्यान्वयनमा लैजान सुझाव दिए ।
पूर्वमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक क्षेत्रलाई सहयोग गर्ने महत्वपूर्ण आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै उनले अन्तर्राष्ट्रिय बोलपत्र गरेर बूढीगण्डकी आफैँले बनाउनुपर्ने बताए । आयोजना कार्यान्वयन गर्दा मिलेमतो हुने गरेको उल्लेख गर्दै उनले समयमै काम सम्पन्न गर्नेतर्फ उचित ध्यान पु-याउनुपर्ने बताए । निर्यात तथा आन्तरिक खपतलाई विशेष ध्यान दिएर काम गर्न उनले सुझाव दिए । डा. महतले जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने विषय उपयुक्त भए पनि अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताए ।
पूर्वमन्त्री राधा ज्ञवालीले बूढीगण्डकीजस्ता महत्वपूर्ण आयोजनालाई विशेष प्राथमिकता दिएर अगाडि बढाउन आग्रह गरिन् । यस्तै उनले पानीको सदुपयोग गर्ने तथा सिँचाइको पाटोतर्फ पनि ध्यान दिनुपर्ने बताइन् । पूर्वमन्त्री चित्रलेखा यादवले गरिब जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै देशको विद्यमान व्यापार घाटालाई सम्बोधन गर्ने कार्यक्रम ल्याएर अगाडि बढ्नुपर्ने बताइन् ।
त्यसैगरी पूर्वमन्त्री उमेशकुमार यादवले छुट्टै जलस्रोत ऐन ल्याउन आग्रह गर्दै ऊर्जामा बढी ध्यान दिएर जलस्रोत र सिँचाइलाई हेला गर्ने पुरानो प्रवृत्ति नदोहो¥याउन अनुरोध गरे । पूर्वमन्त्री उमाकान्त झाले सिँचाइ एवं ऊर्जा क्षेत्रका नेपाली प्राविधिकले पनि राम्रो अनुभव सम्हालेको बताउँदै उनीहरूलाई विश्वासमा लिएर नयाँ आयोजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जल तथा ऊर्जा आयोगलाई थिंक ट्यांकका रूपमा राखेको छ । यो संस्थालाई बलियो बनाउनुपर्छ ।’
त्यसैगरी सांसद सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवका आयोजनालाई सोहीअनुसारको गतिमा अगाडि बढाउन सुझाव दिए । उनले भने, ‘समयमै परियोजना सम्पन्न गर्नुपर्छ, त्यसका लागि आवश्यक प्राविधिक सहयोग गर्नुपर्छ ।’
पूर्वमन्त्रीको सुझावपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले जनताको मनोविज्ञान बुझेर काम गर्ने र आफूले पाएका सुझावलाई सकेसम्म कार्यान्वयनमा लैजान प्रयास गर्ने बताइन् । उनले एक प्रतिशत चुहावट रोक्दा पनि गरिब जनतालाई निःशुल्क विद्युत् दिन सहज हुने बताइन् । किसानलाई विद्युत्मा सहुलियत दिँदा उत्पादनमा वृद्धि भई व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।