न्युयोर्क । चर्चित अमेरिकी गायिका रिहान्ना आधिकारिक रुपमै अर्बपति बनेकी छिन् । प्रसिद्ध म्यागाजिन फोर्ब्सले रोबिन ‘रिहान्ना’ फेन्टी अर्बपति बनेको जनाएको हो । विश्वका धनी व्यक्तिहरुबारे समाचार संकलन गर्ने उक्त म्यागजिनले बुधबार ३३ वर्षीया पपस्टार रिहान्नाको सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर पुगेको जनाएको हो । योसँगै रिहान्ना संसारकै धनी महिला संगीतकार र ओप्रा विन्फ्रेपछि म्युजिक क्षेत्रकै दोस्रो धनी महिला बनेकी छिन् ।
उनी पछिल्लो समय आफ्नो व्यवसाय फेन्टी ब्युटी र सेभेज एक्स फेन्टीमा बढी ध्यान दिँदै आएकी थिइन् । फोब्र्सले फेन्टी ब्युटीको मात्रै दुई अर्ब ८० करोड मूल्यांकन भएको जनाएको छ । सेफोरा स्टोरलाई बिक्री भएको यो मेकअप ब्रान्डले सन् २०१८ ताका नै ५५ करोड डलर वार्षिक आम्दानी दिइरहेको थियो । यो भनेको चर्चित अर्की मोडल किम कार्दाशियन वेस्टको केकेडब्ल्यू ब्युटी र कायली जेनरको कायली कस्मेटिक्स तथा जेसिका अल्बाको अनेस्ट कम्पनीको भन्दा धेरै आम्दानी भएको फोर्ब्सले जनाएको छ ।
रिहान्नाको सफलतामा महिलाहरुको लागि सबै आकारप्रकारमा मार्केटिङ प्रोडक्ट दिनसक्नु कारण रहेको बताइएको छ । फोब्र्सका अनुसार सेभेज एक्स फेन्टीमा रिहान्नाको ३० प्रतिशत सेयर स्वामित्व छ । यो कम्पनीले गत फेब्रुअरीमा ११ करोड ५० लाख डलर उठाएको थियो । यो कम्पनीको मूल्यांकन एक अर्ब डलर रहेको छ । लिंगरी ब्रान्डमा जे जेट -यापर र एलभीएमएच सीईओ बर्नार्ड आर्नल्टको पनि लगानी छ ।