नयाँ दिल्ली । आफ्ना कर्मचारीलाई फ्ल्याट र मर्सिडिज कारजस्ता महंगा उपहार दिएर चर्चामा आएका भारतीय हिरा व्यापारी सावजी ढोलकियाले अर्बौँको बंगला खरिद गरेका छन् । उनले मुम्बईमा आलीशान बंगला एक सय ८५ करोड भारतीय रुपैयाँमा किनेका हुन् । एस्सार ग्रुपको कम्पनी आर्के होल्डिंग्सले यो सम्पत्ति सावजी ढोलकियााको कम्पनी हरिकृष्ण एक्सपोर्टसलाई बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो बंगलाको नाम पापनहार रहेको छ । यसले २० हजार वर्गफुट क्षेत्र ओगटेको छ । यसमा बेसमेन्ट ग्राउन्ड फ्लोर र छ भवन छन्न । यो सम्पत्तिको प्रतिवर्गफुट मूल्य नै ९३ हजार भारु रहेको आकलन गरिएको छ ।
लेनदेनको राशिमा दुई रजिष्ट्रेसन पनि सामेल छ । यसमा एक ४७ करोड भारुमा १३५० वर्गमिटर जमिन पनि जोडिएको छ । यसमा पाँच प्रतिशत अर्थात् २.५७ करोडको स्टम्प ड्युटी (शुल्क) तिरिएको छ । इन्डियाबुल्स हाउजिङ फाइनान्सलाई जमिनमा कर्जाको लागि सिधै ३६.५ करोड भुक्तानी गरिएको बताइएको छ ।
दोस्रो रजिष्ट्रेसन रेसिडेन्सियल बिल्डिङ हस्तान्तरणको लागि एक सय ३८ करोड भारुमा गरिएको हो । यसमा छ प्रतिशत दरबाट आठ करोड ३० लाख भारु स्टम्प ड्युटी तिर्नुपर्छ । यसमा एक प्रतिशत घटाएर छ करोड ९१ लाखको स्टम्प ड्युटी तिरिएको छ । यो ,किनबेचमा एक अर्ब आठ करोड २५ लाख भारु सिधै इन्डियाबुल्सलाई तिरिएको छ । हरिकृष्णा एक्पोर्टसका संस्थापक तथा प्रमुख सावजीले इकोनोमिक टाइम्ससँग बंगला खरिदको पुष्टि गरेका छन् ।
एस्सारले सम्झौतामार्फत प्राप्त रकम आफ्नो ऋण तिर्न खर्च भएको जनाएको छ । आर्कोा होल्डिंग्सले ऋण लिनको लागि यो सम्पत्ति सुरक्षाको लागि राखेको थियो । सावजीले तिहारका बेला कर्मचारीलाई दिल खोलेर महंगा उपहार दिएका थिए । यसअघि उनले आफ्ना तीन कर्मचारीलाई मर्सिडिज कार नै उपहार दिएका थिए । सन् २०१६ मा उनले तिहारमा आफ्ना कर्मचारीलाई चार सय फ्ल्याट र एक हजार दुई सय ६० वटा कार उपहार दिएका थिए । रिपोर्टअनुसार हरिकृष्णा एक्पोटर््समा पाँच हजार कर्मचारी काम गर्छन् । यो कम्पनीको कुल कारोबार छ हजार करोड भारुको छ ।
सावजी ढोलकिया गुजरातको अमरेली जिल्लामा जन्मिएका थिए । सानो गाउँमा जन्मिएका उनी पढाइमा रुचि नै देखाउँदैनथे । १३ वर्षको उमेरमै उनी सूरत आएका थिए । त्यहाँ सानो फ्याक्ट्रीमा काम गर्न थाले । १० वर्ष उनले हिरा खियाउने काम गरे । यसबारे उनले धेरै अनुभव हासिल गरे । पछि उनले आफ्नै घरमा केही साथीको साथमा हिरा खियाउने काम गरे । विस्तारै यो व्यवसाय अघि बढ्दै जाँदा अहिले उनको कम्पनीले ५० देशमा हिरा आपूर्ति गरिरहेको छ ।